Follow palashbiswaskl on Twitter

ArundhatiRay speaks

PalahBiswas On Unique Identity No1.mpg

Unique Identity No2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Jyoti basu is dead

Dr.B.R.Ambedkar

Friday, April 12, 2013

नेपाली राजनीतिका गुमनाम संस्मरण (पुष्पलाल/बिपी सम्बन्ध, सरकार- माओवादी वार्तादेखि जनआन्दोलनसम्मका गुपचुप कहानी)

नेपाली राजनीतिका गुमनाम संस्मरण (पुष्पलाल/बिपी सम्बन्ध, सरकार- माओवादी वार्तादेखि जनआन्दोलनसम्मका गुपचुप कहानी)


Published on: Thursday, April 11, 2013 // 
-लोककृष्ण भट्टराई -

  बरिष्ठ बाम बुद्धिजीवि/चिन्तक

................................................................

शेरबहादुर देउवाले २०५८ सालमा संकटकाल लगाएपछि काठमाडौँमा  माओवादीको सम्पर्क केन्द्रजस्तै थिएँ म । त्यही आरोपमा पछि सैनिक गिरफ्तारीमा परेँ । संकटकाल शुरु भएपछि पनि माओवादीसँग वार्ताको प्रयास भएको थियो । पत्रकार पुरुषोत्तम दाहाल र म पहलकर्ता थियौं । पहिलो वार्ता असफल भएर माओवादीले दाङको सैनिक व्यारेकमा आक्रमण भयो । त्यही बीचमा वार्ताको पहल भएको थियो असफल भयो । वार्ताको अभ्यास हामीले निकै मेहनतसाथ गरेका थियौं ।
मैले किसुनजी (कृष्णप्रसाद भट्टराई)मार्फत तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गरें । वार्ताका लागि पहल गर्ने भन्ने कुरा भयो । त्यसपछि मैले  प्रचण्ड र बाबुरामलाई इमेलबाट सम्पर्क गरेँ । त्यो बेला माओवादी नेतृत्वलाई सम्पर्क गर्ने दुईवटा इमेल थियो । मैले इमेल गरेलगत्तै सकारात्मक जबाफसहित डा बाबुराम भट्टराईले मलाई फोन गर्नुभो । उहाँहरुसँग भएका कुरा मैले शेरबहादुरलाई फरवार्ड गरेँ । तर शेरबहादुरले बाबुरामकै भरमा मात्रै हुन्न भने । 'बाबुराम अल्पमतमा छन्, प्रचण्डले नै नभनिकन वार्ताको कुरा कसरी पत्याउने ?' भने देउवाले । त्यसपछि मैले प्रचण्डलाई इमेल गरेँ । प्रचण्डले मलाई फोन गरेर भने, –वार्ता गर्ने । तपाईँ कुरो अघि बढाउनुस् ।' प्रचण्डले सरकारको औपचारिक पत्र हुनुप¥यो भन्नुभो । शेरबहादुर पत्र दिन तयार भए । सरकारको पत्र लिएर डी. आर. लामिछाने त्यतिवेला रोल्पा गए । रोल्पास्थित पार्टी सम्पर्कमा पत्र बुझाएर डी. आर. काठमाडौं फर्के । त्यही समयमा शेरबहादुर देउवाले राजालाई भनेछन्, 'माओवादीसँग वार्ता फेरि गर्नुप¥र्यो । यो कुरा सुनेर राजा ज्ञानेन्द्र हाँसे रे । यो कुरा मलाई देउवाले नै सुनाएका हुन् ।
माओवादी र तत्कालीन सरकारबीच २०५९असोज २२ गते युद्धविराम गर्नेगरी वार्ता हुदै थियो । तर असोज १८ गते नै राजाले टेकओभर गरिहाले । राजाले शेरबहादुर देउवालाई हटाएपछि वार्ताको सबै प्रक्रिया समाप्त भयो । त्यसपछि प्रचण्डले मलाई फोन गरेर भने, 'अब के गर्ने ?' प्रचण्ड त्यतिवेला ज्ञानेन्द्रसँगै वार्ता गर्न चाहन्थे ।
एक दिन डी. आर. लामिछाने मेरो घरमा आएर भने–प्रभाकर शमशेरसँग मेरो राम्रै चिन्जान छ । कुरा गरौँ ?   प्रभाकर शमशेरसँग उनको भेट चितवनमा भएको रहेछ अलिक अगाडि । मैले भनेँ –हुन्छ, भेट्नुस् न त । के भन्दा रहेछन् ।' डीआरले होटल सोल्टीमा गएर प्रभाकरलाई भेटेछन् । वार्ताको प्रसंगमा कुरा गरेपछि प्रभाकरले ज्ञानेन्द्रसँगै भेटाइदिने पनि बचन दिएछन् ।
प्रभाकरसँगको कुराकानीपछि ज्ञानेन्द्र पनि डी आरलाई बोलाएर भेट्न राजी भएछन् । त्यसपछि कुनै दिन होटल मल्लमा राजा र डीआर बीच दुईघण्टा कुराकानी भएछ । राती आठ बजे बोलाएका थिए ज्ञानेन्द्रले डी आरलाई । डी आर हेर्दा नपत्याउने खालका मान्छे थिए, तर बौद्धिक थिए । ज्ञानेन्द्रले भनेछन्–ठीक छ पिस प्रोसेसलाई अगाडि बढाउनुस् ।'  यो कुरा डी आरले मलाई भनेका हुन् । डीआर अहिले यो धर्तीमा छैनन् ।
त्यतिबेला मेरो फोन सेनाले टेप गरेको थियो । माओवादी नेताहरुसँग कुरा गर्न म चोभार पुग्थेँ । बाबुरामले नै भनेका थिए, 'तपाईको फोन टेप भएको हुन सक्छ, अर्कै फोनबाट कुरा गरौँ ।' त्यसकारण म आफन्तको घरमा चोभार पुग्थेँ त्यहीँबाट कुरा हुन्थ्यो । डी आरले ठुलो भुमिका खेलेका थिए दोस्रो वार्तामा । यतिसम्म कि रामबहादुर थापा बादलले सुट हालिदिए भनेर भन्थे डीआर मसँग । त्यतिवेला वीरेन्द्रझापालीको भुमिका गाडी हाँक्ने भन्दा केही थिएन । डी आरलाई गाडीमा हाकेर पु¥याइदिन्थे झापाली । तर झापालीलाई बेकारमा मिडियाले बढी उचाले ।
मैले दरबारको अनौपचारिक च्यानलबाट थाहा पाए अनुसार पछि डीआर लामिछानेको पहलमा माओवादी अध्यक्ष प्रचण्डसँग ज्ञानेन्द्रको भेट भयो बाग्लुङको ढोरपाटनमा । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटुवालले हेलिकोप्टरमा हालेर लगेका थिए ज्ञानेन्द्रलाई । त्यो वार्तामा माओवादीका नेताहरु कृष्णबहादुर महरा र पोष्टबहादुर बोगटी पनि थिए । तर सेरेमोनियल किंगको बिषयमा कुरा मिलेनछ । ज्ञानेन्द्रले नै त्यो कुरा अस्वीकार गरेछन् । त्यसपछि वार्ता भएन ।

माघ १९ को कदम चालेपछि ज्ञानेन्द्रले मलाई तीनपटक मन्त्री पदको अफर गरे । पशुपतिभक्त महर्जन नै मलाई भेट्न आएका थिए । माघ २६ र २८ गते मलाई भेटेर पशुपतिले भनेका थिए–मन्त्री बनिदिनुप¥यो र माओवादीसँग वार्ता गराइदिनुप¥यो ।' मलाई वार्ता टोलीको संयोजक बनाउने र वार्ता गराएर त्यसको जस आफैँ लिने शोचमा रहेछन् ज्ञानेन्द्र । मैले मानिँन । 
त्यसअघि नै मलाई प्रचण्डको सल्लाहकार आरोपमा सेनाले समातेर थुन्यो । २०६० फागुन ५ गते मलाई पक्राउ गरेर सैन्य हेडक्वार्टर पु¥याईयो र मेरो बयान लिए तत्कालीन सेनाप्रमुख प्यारजंग थापाले । उनले भने–तपाईँ प्रचण्डको सल्लाहकार हुनुहुँदो रहेछ त्यही भएर ल्याएको ।' मैले भने– हो । माओवादीलाई शान्तिपूर्ण आन्दोलनमा आउन सल्लाह दिने मान्छे हो म । प्रचण्डलाई मात्र होइन, म माधव र गिरिजालाई पनि घुस नखान सल्लाह दिन्छु, राजा ज्ञानेन्द्रलाई पावर छाड्न सल्लाह दिन्छु ।' मैले भनिदिएँ, म सबैको सल्लाहकार ।'  त्यो बेला सूर्य सुवेदीको पहलमा बेलायतमा लेवर पार्टीका नेता ग्यारी हार्टले त्यहाँको संसदमै कुरा उठाए मेरो गिरङ्खतारीका बारेमा । ग्यारी हार्टले ज्ञानेन्द्रलाई पत्र लेखेरै मेरो गिरफ्तारीको विरोध गरेका थिए । त्यहाँको समेत दबाबमा मलाई सेनाले १६ दिनपछि रिहा ग¥यो ।
..................................................
म २०२७ सालमा पुष्पलालको चिठी लिएर वीपी कोइरालाकहाँ गएको थिएँ  । वीपी बनारसको सारनाथमा बस्थे । म त्यतिवेला परिपक्व भइसकेको थिइँन । तर वीपीलाई भनेँ–महेन्द्रको शासन विरुद्ध सबै मिल्नुपर्छ सान्दाइ ।' बीपी सबैलाई सम्मान गर्थे त्यतिवेला उनलाई भेट्न जो सुकै जावस् । सारनाथमा वीपीसँग प्रदीप गिरी, शैलजा आचार्य पनि बस्थे । त्यो बेला प्रदीप गिरी, मोदनाथ प्रश्रीत, शैलजा आचार्य र मेरो पहलमा नेपाल भारत जनमैत्री संघ स्थापना गरियो । बनारस हिन्दु विश्वविद्यालय(बीएचयू)को हलमा  हामीले बीपी र पुष्पलाललाई एउटै मञ्जमा उभ्याएका थियौँ । प्रोफेसर चन्द्रबली सिंहको पनि विशेष सहयोग थियो त्यो बेला । बिपीकहाँ मेरो पछिसम्म आवतजावत भइरह्यो, पुष्पलालको त म अनुयायी नै भएँ । ............................................................................
२०४६ सालमा कम्युनिष्ट र कांग्रेसबीच सहकार्यको पृष्ठभूमि रोचक छ । त्यसको प्रत्यक्ष भूमिकाकर्ता र साक्षी दुवै हुँ म । कुरो २०४६ साल भदौको हो, काठमाडौँ को प्योखा चोकमा गणेशमान सिंहसँग मेरो भेट भयो । छाता आढेर आउँदै थिए गणेशमान र मंगला भाउजु । भेट पूर्वनिर्धारित थिएन । गणेशमानले भने, 'ल तँ मेरो घरमा हिड् । ' उनले टाइम्स अफ इन्डिया किने । हामी घर गयौँँ । पाउरोटी, जाम र चिया खाइयो । 
गणेशमानले भने, 'लोककृष्ण, मालेको मेजर लिडरसिपलाई मसँग भेटाइदे ।' मैले भनेँ 'मोहनचन्द्र अधिकारी, आर के मैनाली, केपी ओलीलाई भेट्नुस् न । ' उनले भने, 'मालेमा उनीहरुको प्रभाव छैन । मेजर लिडरसीपलाई भेटेर कुरा गर्छु । राजा वीरेन्द्रले उनीहरुलाई युज(प्रयोग) गरेका छन्, उनीहरुलाई हाम्रोे फोल्डमा ल्याएर राजा फाल्नुपर्छ । ' मैले यतिमात्रै भनेँ –म प्रयास गर्छु ।'  म फर्केँ ।
न्यौँखामा आएर लालिमा पुस्तक सदनमा बेइजिङ् रिभ्यु पत्रिका किनेँ । लालिमा पुस्तक सदन त्यतिवेला झापाली मालेको सम्पर्क स्थल थियो । त्यहीँ जीवराज आश्रीत भेटिए । म त्यतिवेला माक्र्सबादीमा थिएँ । म, आनन्द सन्तोषी राई र एमएस थापालाई पार्टीले कारवाही गरेको थियो । आरोप थियो–मालेको हावामा पञ्चायतको चुनावमा उठेको ।' त्यो बेला रामसिं रावल, वोर्णबहादुर कार्की, रामबहादुर भण्डारी, हरिश्चन्द्र आचार्य पनि कारवाहीमा परेका थिए । त्यो बेला जीवराज आश्रीतको रणनीति थियो  –हामी सबैलाई मालेमा लैजाने । मलाई पोलिटव्युरो सदस्य दिने, मनमोहन अधिकारी र साहना प्रधानलाई राजनीतिबाट आउट गर्ने । यसको बेग्लै प्रसंग छ ।
म जीवराजसँग भेट भएको कुरा गर्दै थिएँ । त्यो दिन जीवराजसँग भुरुङखेलस्थित जनगायक रामेशका दाजु गोरख श्रेष्ठको घरमा मेरो ४ घण्टा कुराकानी भयो । गणेशमानले भनेको कुरा जीवराजलाई सुनाएँ । उनले भने, 'पार्टीको महाधिवेशन सकेपछि गणेशमानजीसँग भेट्ने ।' उनले कमिटमेन्ट गरेपछि म हिडेँ ।
कात्तिक ३ गते मदन भण्डारी र जीवराज आश्रीत मेरो घरमा आउनुभो । र गणेशमानजीसँग भेट्ने कुरा भयो । त्यतिवेला भण्डारी, आश्रीतहरु भूमिगत हुनुहुन्थ्यो । कात्तिकको अन्तिम सातातिर देवनारायण महर्जनको घरमा गणेशमानजी, मदन, जीवराजको भेट भयो । देवनारायण काठमाडौँको जमिन्दारविरोधी किसान आन्दोलनका नेता थिए । देवनारायण र म पनि सँगै थियौँ ।  विहान ९ बजे शुरु भएको कुराकानी बेलुकीसम्म चल्यो । कुराकानीको अन्तिममा मदनले भन्नुभो–तपाईँहरु गणतन्त्रसम्म जाने कि नजाने गणेशमान दाइ ? यदि तपाई जाने हो भने हामी पनि बहदुदलीय प्रतिस्पर्धा मानेर आउँछौ ?  । राजतन्त्र फालौँ ' गणेशमानले पाखुरा सुर्केर भन्नुभो , 'ल अब फाल्ने । यत्रैसित । ' त्यो भेटले नै जनआन्दोलनको सूत्रपात गरेको थियो .
............................................................................
२०६२/०६३को आन्दोलन कसरी सफल भयो ? यसको पनि कहानी छ । त्यो आन्दोलनमा भारतीय कम्युनिष्ट नेता कमरेड हरिकिसनसिं सुरजीतको योगदानलाई बिर्सनु ठूलो अन्याय हुनेछ । २०६१ फागुन ३ गते म सुरजीतको घर नयाँ दिल्लीमा पुगेँ । सुरजीतले भने, 'क्युँ ऐसा किया राजा ने ? ' मैले भने, 'तपाईँको नेतृत्वमा अब पहल गर्नुप¥यो राजा विरोधी लविङ् ।' उनको नेतृत्वमा भारतमा प्रजातन्त्र पुनर्वहाली सहयोग समिति गठन भयो । त्यो बेला चिनियाँ हतियार आउँदै थियो नेपालमा । बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवशेन पनि हुँदैथियो । भारतबाट प्रकाश करात र सीताराम यचुरी चीन जाने तयारीमा हुनुहुन्थ्यो । मैले सुरजीतलाई भनेँ  'कमरेड, तपाईले हु जिन्ताओलाई चिठी लेखिदिनुप¥यो ।' मेरो आग्रह र परिस्थितजन्य बिषयलाई बुझेर उनले चिठी लेखिदिए । चिठिमा उनले लेखेका थिए 'कम्युनिष्ट पार्टी र त्यसको सरकारले राजतन्त्रलाई सहयोग गर्ने कुन कम्युनिष्ट दर्शनमा छ ? चिठि लिएर प्रकाश करात र सीताराम यचुरी चीन गए । उनीहरुले चिनियाँ  राष्ट्रपति हु जिन्ताओसँग दुईघण्टा छलफल गरेछन् नेपालको बिषयमा । हु कन्भिन्स भएछन् । त्यसपछि नेपालमा आउन लागेको हतियार रोकियो, चिनियाँ विदेश मन्त्री नेपाल आए । उनले गिरिजाप्रसाद कोइराला, झलनाथ खनालसँग भेटे तर सरकाले माधव नेपालसँग भेट्ने अनुमति दिएन । राजा ज्ञानेन्द्रलाई उनले भेटेर भने, 'दलहरुसँग सम्झौता गर्नुको विकल्प छैन ।' त्यसपछि ज्ञानेन्द्र गले । प्रकाश करातको संयोजनमा चीन र भारतीय नेताहरुबीच वार्ता नै भएको थियो । मैले थाहा पाएअनुसार मनमोहन सिंह, सोनिया गान्धी र हु जिन्ताओबीच नेपालको मामिलामा पटकपटक टेलिफोन वार्ता भएको थियो ।    

(कुराकानीमा आधारित)

No comments: